काठमाडौँ । तीन वटा राजनीतिक दलले बञ्चरे डाँडामा फोहोर पाल्न नदिने निर्णय गरेपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले कडा प्रतिक्रिया दिएका छन् । मेयर शाहले सत्तारुढ गठबन्धनकै दलहरूले फोहोर फाल्न नदिने गरेको सहमति बिडम्बनापूर्ण भएको बताएका हुन् ।
यस अघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले धुनीबेँसी नगरपालिका वडा नं. १ का अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै फोहोर फाल्न नदिने सहमति गरेर विज्ञप्ति जारी गरेका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै फोहोरमा राजनीति नगर्न र गरिए त्यसले राम्रो नगर्ने बताएका छन् । उनले धादिङको धुनीबेँसी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले संयुक्त रुपमा जारी गरेको पत्र सेयर गर्दै फोहोर व्यवस्थापनका लागि स्थानीयस्तरमा संरचना बनाइएको तथा मुआब्जालगायत सहमति पनि भइसकेको बताएका छन् ।
शाहले कुनै अवरोध नभएमा २५० देखि ३५० फोहोर बोक्ने गाडीहरूले बन्चरे डाँडामा फोहोर लैजाने जानकारी गराएकोमा आज ९० वटा गाडीले फोहोर लगेको बताए ।
त्यसको पछाडि कसैले पानीको मुहानमा फोहोर फालेको भनेर सडक अवरोध गरेको र ट्रिपरले बाख्रा मारेर अवरोध भएको उल्लेख गर्दै साहले ति दुवैको समाधान गरिएको बताए ।
यस्ताे गठबन्धनकाे फाेहाेर फाल्न नदिने सहमति :
श्रीमान पाटी अध्यक्ष तथा सभापति ज्यू
नगर कार्यसमितिको कार्यालय
धुनीबेँसी नगरपालिका, धादिङ ।
विषय :-फोहोर मैला सदाकालको लागी बन्द गर्ने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा विगत १७ बर्ष देखी काठमाण्डौँ महानगर लगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समयमा कुडुल्ले बन्चरेमा फोहोर अव्यवस्थित तरिकाबाट फाल्दै आएको र फोहोरले स्थानीय बासिन्दाको जनजिवन अत्यन्तै कष्टकर हुनुका साथै विभिन्न दीर्घ रोगले स्थानीय बासिन्दाहरू पीडित भइरहेको र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोर मैलाको उचित व्यवस्थापनमा महानगर लगायत नेपाल सरकारले हलुका रुपमा लिएको र स्थानीय बासिन्दाहरूले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाण्डौँ महानगर लगायत राज्यको विभिन्न अङ्गसँग पटक पटक गरेर अहिले सम्म १७४ ओटा सहमति भएको र त्यो सहमति कार्यन्वयन गर्ने नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पुरा गर्नुको सट्टा उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनताहरू माथि प्रहरी प्रशासन घर भित्रै पसेर ज्याजती गर्दै उल्टै स्थानीय पीडित जनताहरूलाई विभिन्न खालको भुट्टो अभियोग लगाई दुख दिन खोजे पछि स्थानीय बासिन्दाहरूले अव महानगर वा राज्य सँग सम्पुर्ण रुपमा आफ्नो विश्वास गुमेकोले फोहोर मैला दिर्घकालीन बन्द गर्ने अभियानको नेतृत्व राजनैतिक दलले गरिदिनु पर्ने माग जोडतोडका साथ उठेकोले सत्ता गठबन्दनको तर्फबाट यो समस्याको समाधान गर्न हामी तयार भएको जानकारी सहित तिन ओटै पाटीको नगरकार्यसमितिले तत्कालै हाम्रो नगर भित्रै रहेको प्रमुख पाटी नेकपा एमाले सहित सबै दलको सर्वदलिय बैठक बोलाई फोहोर मैलाको समस्या समाधानको लागी अग्रसरता लिनुहुन माग गर्दछौ ।
यदि यो कुरालाई गम्भिरताको साथ नलिकन जनताको स्वास्थ्य जस्तो संवेदनसिल विषयलाई हल्का रुपमा लिएमा अवको संघ र प्रदेशको निर्वाचन वहिस्कार गर्ने र वहिस्कारको अभियानमा लाग्ने सम्मको चेतावनी दिएकोले फोहोर मैलाको समस्या समाधानमा लाग्न हुन अनुरोध गर्दछौ ।
स्थानीय पीडित जनताहरु अहिले पनि आन्दोलनमा नै भएकोले हामी पनि आजैको दिनबाट उक्त आन्दोलनमा सहभागिता जनाउने निर्णय गरेका छौ ।
FACEBOOK COMMENTS