काठमाडौं । असोज १ गते देखि काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिने भएको छ ।
महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
महानगरपालिकाले जारी गरेको सूचनाको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही र जरिवाना गरिने सूचनामा उल्लेख गरिएको छ । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ ।
त्यस्तै दफा ५ मा सार्वजनिक निकायलाई धुमपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ । साथै, महानगरले सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि सबैसँग आग्रहमेत गरेको छ ।
FACEBOOK COMMENTS