काठमाडौँ । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस)का ३९ वर्षीय वीर बहादुर घिसिङ रहेका छन् ।
घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईँलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनी ललाइ फकाई गरी महिलाहरूले लगाएको सक्कली सुनका गरगहनाहरू झुक्काई लाने गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाहरूले गरेको गुनासोका आधारमा भदौ ३१ गते दिउँसो करिब साढे ११ बजेको समयमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकम सहित प्रहरीले पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
चितवन जिल्ला अदालतबाट आइतबार ठगी उद्योग कसुरमा म्याद अनुमति लिएर घिसिङमाथि थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।
FACEBOOK COMMENTS