काठमाडौं । गएको शनिवार काठमाडौंमा झरी परिरहेको थियो ।
अलि चिसो पनि भएको, मौसम परिवर्तनले स्वास्थ्य बिग्रिएला कि भन्ने चिन्ताले घरबाट बाहिर निस्कौँ कि ननिस्कौँ भन्ने दोधार थियो । तर, नेपाल पर्यटन बोर्डको प्रेक्षालय भने कलाकार र हचलचित्र क्षेत्रका पारखीहरुले खचाखच थियो । त्यहाँ भारतीय अभिनेत्री शबाना आजमीका जीवनका कथा सुनाइरहेकी थपइन् ।
नेपाली अभिनेत्री स्वस्तिमा खड्का, आजमीको व्यक्तिगत, सामाजिक र पेशागत जीवनसँग सम्बन्धित अन्तरकुन्तरका प्रश्न सोधिरहेकही थिइन् । चलचित्रको पर्दामा अनेक चरित्रमार्फत दर्शकको मन जितेकी आजमीले आफ्नो बाल्यकाल, अभिनय यात्रा, पारिवारिक सम्बन्ध, प्रेम, विवाह र महिलाको सामाजिक अवस्था बारे अनुभव र विचार सुनाइरहँदा उपस्थित सहभागी कुरा सुन्नमा मग्न थिइन् ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ अन्तर्गत पर्यटन वोर्डमा आयोजना भएको ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड)’ बिषयको प्यानल डिस्कसनको संवाद केवल दुई अभिनेत्री बिचको परिचयात्मक कुराकानीमा सीमित थिएन । यसमा अभिनयको यात्रा, कलाप्रतिको प्रतिबद्धता, सामाजिक चेतना, महिला समानता र व्यक्तिगत सम्बन्धका जीवन्त अनुभव मिसिएका थिए । फरक देश र पुस्ताका दुई अभिनेत्री एउटै मञ्चमा उभिएर आफ्ना अनुभव साट्दा संवाद रोचक बनेको थियो ।
६ महिनादेखि रङ्गमञ्चको वातावरणमा

संवादमा स्वस्तिमाले आजमीको अभिनय यात्रा प्रवेश सम्बन्धी जिज्ञासा राख्दै कुराकानी थाल्नुभयो । जवाफमा आजमीले आफ्नो बाल्यकाल र आमाको रङ्गमञ्चसँगको सम्बन्ध सम्झिइन् । उनकी आमा शौकत कैफी चर्चित रङ्गमञ्च अभिनेत्री थिइन् । आमाले आफूलाई छ महिनाको उमेरदेखि नै रिहर्सलमा लैजाने गरेको उनको भनाइ थियो ।

अभिनय र कलाको वातावरणमा हुर्किए पनि बाल्यकाल सहज थिएन । आर्थिक अभाव र सीमित स्रोत साधनका बीच बितेको बाल्यकाल सम्झँदै आजमीले भनिन्, ‘हामी एउटा सानो कोठामा बस्थ्यौँ । परिवारका आठ जना सदस्यले एउटै शौचालय प्रयोग गर्नुपथ्र्यो । मेरा बुबाले कमाएको सबै पैसा कम्युनिस्ट पार्टीलाई दिइन् । घर चलाउन हाम्रो परिवारले जम्मा ४० भारतीय रुपैयाँ पाउँथ्यो ।’

अभावले भरिएको पारिवारिक वातावरणमा आफूले काल्पनिक संसार निर्माण गर्न थालेको उनको भनाइ थियो । जीवनका कठिनाइले नै आफूभित्र कल्पनाशील बनाएको, सिर्जनात्मकताको विकासमा सघाएको उनले अनुभव सुनाइन् ।

अभिनयलाई नै पेशा बनाउने निर्णय गर्दा परिवारको साथ कस्तो थियो भन्ने प्रश्नमा उनले आफ्ना बुबा (जो कवि पनि थिए) नप्रख्यात कवि कैफी आजमीको सम्झना गर्नुभयो । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा अध्ययन गर्ने निर्णय सुनाउँदा बुबाले दिएको जवाफ उहाँको जीवनको महत्वपूर्ण प्रेरणा बनेको रहेछ ।
‘तिमीले जुनसुकै बाटो रोजे पनि म तिम्रो साथ दिनेछु । भोलि तिमीले जुत्ता सिलाउने मोची बन्ने इच्छा गरे पनि म तिम्रै साथमा हुनेछ । तर, त्यो पेशामा तिमी सबैभन्दा उत्कृष्ट हुनुपर्छ ।’ बुबाको भनाइ उद्धृत गर्दै आजमीले दिएको अभिव्यक्तिमा बुबाप्रतिको सम्मान र आत्मविश्वास झल्किन्थ्यो । उनको भनाइमा पेशा ठूलो वा सानोभन्दा पनि आफूले रोजेको काममा उत्कृष्ट बन्ने प्रतिबद्धता महत्वपूर्ण हुने जीवनदृष्टि थियो ।
अभिनेत्री खड्काले, आजमीको परिवारमा रहेको राजनीतिक चेतना, साहित्यिक वातावरण र लैङ्गिक समानताको सोचले उनको अभिनय जीवनलाई कसरी प्रभावित ग¥यो भन्ने प्रश्न गर्दा, जवाफमा आजमीले आफ्ना बुबाले करिब ७५ वर्षअघि लेखेको एउटा कविताको प्रसङ्ग निकाल्दै बिम्बात्मक उत्तर दिनुभएको थियो । त्यस कवितामा महिलालाई पुरुषको पछाडि होइन, उनीहरूसँगै काँधमा काँध मिलाएर हिँड्न आह्वान गरिएको थियो ।
‘म हुर्कँदा समानता जीवनको स्वाभाविक नियम हो भन्ने लाग्थ्यो । तर १९ वर्षको उमेरमा पुगेपछि समाजमा समानता स्वाभाविक अवस्था नभई अपवाद रहेछ भन्ने महसुस गरेँ ।’ उनले जीवन भोगाइको अनुभव सुनाउँदै भनिन् ‘परिवारबाट प्राप्त प्रगतिशील सोच र सामाजिक चेतनाले आफूलाई कलाकारका रूपमा मात्र नभई नागरिकका रूपमा पनि आकार दियो । त्यसैले आफूले अभिनय गर्ने चलचित्रमा मनोरञ्जनका साथमा सामाजिक प्रश्न र मानवीय संवेदनाका विषय समेटिएको छ या छैन भनेर स्क्रिप्टमा खोज्ने गर्थेँ ।’
‘कलाकारको जीवनमा एउटा यस्तो समय आउँछ, जब आफ्नो कामलाई केवल बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्मको जागिर जस्तो ठान्न सकिँदैन । यसबाट जीवनको अर्थ र मर्म महसुस हुन्छ । शोषण, दमन र मानव अधिकारका विषय चेतना जागृत हुन्छ । यसकारण अधिकारका विषयमा कलाकारहरु चुप लागेर बस्न सक्दैनन् ।’ उनले जागरणका लागि बिद्रोहका आवाज यतैबाट आउने बताइन् ।
संवादमा आजमी र स्वस्तिमाको अभिनय यात्रामा पनि केही समानता भेटिए । श्याम बेनेगल निर्देशित चलचित्र ‘अंकुर’ बाट अभिनय यात्रा सुरु गरेकी आजमीले व्यावसायिक र कलात्मक दुवै धारका चलचित्रमा आफ्नो प्रभाव स्थापित गरिन् । स्वस्तिमाले पनि व्यावसायिक चलचित्रबाट यात्रा सुरु गरे पनि ‘बुलबुल’ चलचित्रमा अभिनय गरेपछि पेशागत जीवनले नयाँ मोड लिएको हो । दुवै अभिनेत्रीले महिला पात्रका फरक आयाम र सशक्त भूमिकालाई आफ्नो अभिनय यात्रामा महत्व दिइन् ।
सन् १९७४ मा ‘अंकुर’ मा गरेको अभिनयबाट राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान पाएकी आजमीले त्यसपछि ‘अर्थ’, ‘मासुम’, ‘पार’ र दीपा मेहताको ‘फायर’ जस्ता चलचित्रमा प्रभावशाली अभिनय गर्नुभएको छ । ‘अमर अकबर एन्थोनी’, ‘परवरिश’ र ‘अवतार’ जस्ता लोकप्रिय चलचित्रमा आजमीको भूमिकामा दर्शक सन्तुष्ट छिन् ।
कलात्मक चलचित्रमा काम गर्ने कलाकार व्यावसायिक चलचित्रमा सफल हुन सक्दैनन् भन्ने धारणा आफूले धेरै पटक सुन्नुपरेको आजमीको भोगाइ छ । उनका लागि चलचित्रको विधाभन्दा त्यसको कथा र प्रस्तुतिमा सशक्त अभिनय महत्वपूर्ण छ । उनी भन्छिन, ‘एउटा कलाकारका लागि माध्यमभन्दा पनि कथा र त्यो कथा कति इमानदारीका साथ प्रस्तुत गरिएको छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।’ उहाँले स्पष्ट पार्नुभयो । व्यावसायिक र कलात्मक चलचित्र बिचको अन्तरका विषयमा आफ्नो अनुभवलाई एक वाक्यमा व्यक्त गर्दै उनले भनिन् ‘व्यावसायिक चलचित्रले मलाई आर्थिक रूपमा सुरक्षित बनाएको छ भने कलात्मक चलचित्रले आत्मिक सन्तुष्टि दिलाएको छ ।’
दुई अभिनेत्री बिचको संवाद सकिन लाग्दा दर्शकका लागि प्रश्नोत्तरको समय छुट्याइएको थियो । त्यस क्रममा एक सहभागीले आफू शबाना आजमीका चलचित्र हेर्दै हुर्किएको र आज आफ्नै अगाडि उहाँलाई देख्दा विश्वास गर्न गाह्रो भइरहेको बताइन् ।
दर्शकको उक्त अभिव्यक्तिले आजमी भावुक बनिन् । लामो अभिनय यात्रामा आफूले कमाएको दर्शकको माया र सम्मानलाई उनले आत्मीयतापूर्वक स्वीकार उनले, आभार व्यक्त गरिन ।