काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन बिना आयात प्रतिस्थापन गर्न नसकिने बताएका छन् । राजधानीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आयात प्रतिस्थापनको लागि उत्पादन वृद्धिको अर्को विकल्प नभएको भन्दै लगानिकर्तालाइ त्यसतर्फ ध्यान दिनुपर्ने बताए हुन् ।
मन्त्री शर्माले स–साना उत्पादनमुखी व्यवसायमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह समेत गरे । यसले उत्पादन बढाउने र साना उद्योगमार्फत् कृषि उपजलाई एक स्तरको प्रशोधन गरी निर्यात गर्न सक्ने अवस्थामा पु¥याउन सकिने उनको भनाई थियो ।
‘हामीले जति बढी उत्पादन गर्न सक्यौँ त्यति आयात प्रतिस्थापन गर्न सक्छौँ । हाम्रो मुख्य उद्देश्य आयात प्रतिस्थापन हो’, उनले भने, ‘आयात प्रतिस्थापनको लागि उत्पादन वृद्धिको अर्को विकल्प छैन । कृषि उत्पादनमा वृद्धि गर्ने र यसको एक स्तरको प्रशोधन गर्न सक्ने साना किसिमका उद्योगहरूमार्फत् आन्तरिक बजार मात्र हैन बाह्य बजारमा पनि निर्यातको स्थिति सिर्जना हुनसक्छ ।’
उनले विद्यमान तरलताको समस्यालाई अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायले बृहत् छलफल गरेर समाधान गर्ने बताए । उनले राष्ट्र बैंकको नेतृत्वमा अर्थ मन्त्रालयसहित विभिन्न वित्तीय संस्थाहरूसँग बृहत् छलफल गरेर तरलता समस्याको हल गर्ने उपाय निकाल्ने बताएका हुन् ।
यस्तै मन्त्री शर्माले महामारी, प्राकृतिक प्रकोप तथा विश्वमा घट्ने अनपेक्षित घटनाले मूल्य वृद्धि र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको उल्लेख गरे । उनले त्यस्ता घटनामा पनि न्यूनतम आवश्यकता पूर्ति हुने किसिमको अर्थतन्त्र निर्माण वर्तमानको आवश्यकता रहेको बताए ।
‘अहिले हामी धेरै ठूलो सपना पनि नदेखौँ’, उनले भने, ‘न्यूनतम जनताको आवश्यकतालाई सहज रूपमा सञ्चालन गर्न सक्ने किसिमको अर्थतन्त्र हुनुप¥यो । यसका लागि हामीसँग प्रर्याप्त स्रोत र साधन छन् ।’
FACEBOOK COMMENTS