काठमाडाैं । महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार बिहान काठमाडौंको प्रदर्शनी मार्गस्थित टुकुचा खसी बजारबाट बजार अनुगमनको थालनी हुनेछ ।
उपप्रमुख डंगोलको नेतृत्वमा तीन वटा समुह बजार अनुगमनका लागि परिचालित हुने बताइएको छ ।
बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ ।
बजार अनुगमनका लागि निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक तरिकाबाट जाने निर्णय भएको महानगरले जनाएकाे छ । जस अनुसार व्यवसायीलाई जानकारी र सचेत गराउने, सचेत गराउँदा पनि लापरबाही गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नेसम्मका योजना रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को गाउँपालिका, नगरपालिकाको अधिकारको बुँदा नम्बर (ञ) स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था छ । वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहमा दिइएको छ ।
FACEBOOK COMMENTS