काठमाडौँ । मूर्ति विसर्जन र जल भर्ने क्रममा नदीमा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । मर्चवारको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जल भर्ने क्रममा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन ।
विसं २०७८ असोज ३० गते शनिवारका दिन दुर्गा मूर्ति विसर्जनका लागि गएका कोटहीमाई–४,कदम हवाका १९ वर्षीय अनिल कुर्मी खेल्दाखेल्दै नदीमा डुबे । दसैँमा पूजाका लागि बनाइएको दुर्गा मूर्ति विसर्जनका क्रममा दिउँसो २ बजे बेपत्ता भएका उनी शव सोही दिन राति ८ बजे फेला परेको थियो ।
विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एक जनाको मृत्यु भएको थियो । साथीहरूको लहैलहैमा दुर्गा मूर्ति विसर्जनका लागि गएका सम्मरी माई–६ महदेइयाँका सोही उमेर समूहका मुकेश कुर्मी हेर्दाहेर्दै बेपत्ता भई डुबेको २० घण्टापछि मात्र स्थानीयवासीले उनको शव फेला पारेका थिए ।
विसं २०७६ मा कोटहीमाई–१ पुर्निहवाबाट मूर्तिस्थापनाका लागि जल भर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो । प्रहरीको रेकर्डलाई हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भंगहियाका करुणा चौबेका छोरा १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जल भर्ने क्रममा कोटहीमाई–५ का एक बालिकाको डुबेर मृत्यु भएको थियो ।
यसरी सो ठाउँमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । सोही ठाउँमा डुब्दै गर्दा उद्धार भई ज्यान बाँचेकाहरूको सङ्ख्या पनि उत्तिकै छ । विसं २०७५ मा गैडहवा गाउँपालिकाकी २० वर्षीय एक युवतीलाई डुब्दै गर्दा उद्धार गरिएको र अन्य धेरैलाई पौडीबाजहरुले उद्धार गरी ज्यान जोगाएको स्थानीय सञ्चारकर्मी मुकेश चौधरीले बताए ।
“धार्मिक प्रयोजनका लागि जल भर्ने कार्य होस् या मूर्ति विसर्जनलगायतका कार्यक्रम, बर्सेनि जसो एक वा दुई जनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ”, कोटहीमाई–५ तेलियागढका राजेन्द्र यादवले भने, “स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासनसमेतले यसको जिम्मेवारी लिनुपर्छ ।”
FACEBOOK COMMENTS