काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं. १ बाट उम्मेदवारी दिएका छन्।
नेकपा (एकीकृत समाजवादी) धादिङका सचिव सुवास खतिवडामार्फत गल्छी गाउँपालिका–६ महादेवस्थानमा मुख्यमन्त्री पाण्डेको मनोनयन पत्र दर्ता गरिएको हो ।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि धादिङ–१ बाट उम्मेदवार भएका छन् । विसं २०४३ मा जन पक्षीय उम्मेदवारका रूपमा धादिङ जिल्ला पञ्चायतको सभापति पदमा विजयी भएका नेता पाण्डेलाई शासन व्यवस्थाको विरोध गरेबापत तत्कालीन पञ्चायती शासकले पदीय जिम्मेवारीबाट हटाई राजकाज अपराधअन्तर्गत तीन वर्ष जेल सजाय र रु तीन हजार जरिवाना गरेको थियो ।
बहुदलीय व्यवस्था पुनः स्थापनापछि नेता पाण्डे जेलमुक्त भएका हुन् । वि.सं २०६४ को निर्वाचनबाहेक २०४८ पछि मुलुकमा सम्पन्न सबै संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भई २०६३ मा उनी स्थानीय विकास मन्त्रीसमेत भएका थिए । यसअघि विसं २०७४ मा भएको निर्वाचनमा उनी धादिङ क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । नेकपा (एमाले)बाट विद्रोह गरी गठन भएको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उनी बागमती प्रदेशका मुख्यमन्त्री छन् ।
आमा मनमाया पाण्डेको यही असोज १३ गते निधन भएपछि मुख्यमन्त्री पाण्डे हाल काठमाडौँ स्वयम्भूमा किरियाकर्ममा छन् ।
FACEBOOK COMMENTS