काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीका दुईवटा जन्मदर्ताका विषयमा आरोपीका कानुन व्यवसायीबीच नै मतभेद देखिएको छ ।
सन्दीपलाई सोमबार काठमाडौं जिल्ला अदालतमा म्याद थपेपछि उनका कानुन व्यवसायी सुधा रिजालले पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता रहेको र उनी नाबालिग नरहेको आफूसँग बलियो प्रमाण रहेको दाबी गरिन् ।
तर, सन्दीपको कानुन व्यवसायी टोलीको नेतृत्व गरिरहेका सरोजकृष्ण घिमिरेले दुईवटा जन्मदर्ताका विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए ।
‘रिजालजीलाई पनि सन्दीपले कानुन व्यवसायी राख्नुभएको छ । तर, टीमको नेतृत्व मैले गरिरहेको छु । यो विषयमा हाम्रो टीमभित्र कुनै छलफल भएको थिएन । रिजालले एक्कासि त्यो कुरा बोल्नुभयो’, घिमिरेले भने ।
उनले सुधाले आफूलाई थाहा नदिई बोलेको दाबी गरे । ‘सबै डकुमेन्ट मसँग आउनुपर्ने हो यदि त्यस्तो थियो भने’, घिमिरेले भने ।
चार दिनअघि पक्राउ परेका सन्दीपलाई सोमबार अदालत खुलेलगत्तै म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । प्रहरीका अनुसार सन्दीपलाई एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् ।
अधिवक्ता रिजालले सोमबार सन्दीपले न्यायाधीशसमक्ष पीडित भनिएकी युवतीले आफूलाई १९ वर्षको भएको बताएको र भविष्यमा फाइदा पुग्ने गरी उमेर घटाएर नागरिकता बनाएको बताएको जिकिर गरिन् ।
FACEBOOK COMMENTS