काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई २ कात्तिकमा छलफलमा बोलाएको छ । त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।
बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले २६ असोजमा गुरुङको उम्मेदवारी खारेजीको निर्णय गरेका थिए । गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको भन्दै आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धा गर्न रुपन्देही-२ मा नेपाली काँग्रेससहितको गठबन्धनका तर्फबाट गुरुङले उम्मेदवारी दिएका थिए । गुरुङको उम्मेदवारी कायम नभए पौडेल सहजै निर्वाचित हुने अनुमान गरिएकाे छ । सर्वाेच्चकाे उक्त आदेशले पौडेललाइ धक्का लागेकाे छ ।
FACEBOOK COMMENTS