त्रिशूली । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र सोमबार आइपुगेको छ ।
सो निर्वाचन प्रणालीतर्फको पाँच लाख ३२ हजार थान मत रुजु गरेर भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।
निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार उनको निर्वाचन क्षेत्रमा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फका लागि एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ ।
यस्तै प्रदेशसभा (क) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (ख)मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फ एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (ख) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६७–६७ हजार थान मतपत्र प्राप्त भएको छ । ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६३ र समानुपातिकतर्फ ६४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारहरूका लागि ‘उम्मेदवार परिचयपत्र’ वितरणको काम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट भइरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
आम निर्वाचनका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा दुई लाख ३९ हजार सात सय २६ मतदाता कायम छन् । निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।
FACEBOOK COMMENTS