विराटनगर । भारतको टी बोर्डले दार्जिलिङको चियामा नेपाली मिसाउन १ वर्षअघि लगाएको प्रतिबन्ध हटाएको छ ।
टी बोर्डको कदमले पश्चिम बंगालमा नेपाली चियाको घट्दै गएको माग फेरि बढ्ने भएको छ । टाटा चियाले नेपाल र भारतकै अन्य प्रान्तको चियामा दार्जिलिङको मिसाउन पाउनुपर्ने माग गर्दै बोर्डमा निवेदन दिएको थियो ।
बोर्डले टाटाको पक्षमा निर्णय गर्दै मंगलवारबाट प्रतिबन्ध हटाएको हो । २०२१ नोभेम्बर ११ मा बोर्डले जुन स्थानमा उत्पादन भएको चिया हो, त्यहीँको भौगोलिक पहिचानको ट्याग लगाउनुपर्ने र अन्यत्र उत्पादन भएर आएको मिसाउन नपाइने निर्णय गरेको थियो । यसले गर्दा दार्जिलिङको चिया विक्री नभएर हजारौं टन सस्तोमा लीलाम गर्नुपरेको थियो ।
टाटा कन्जुमर प्रोडक्ट्स लिमिटेडले मात्रै दार्जिलिङको हजार टन चिया खरीद गर्दै आएको छ । यो परिमाण त्यहाँको उत्पादनको १५ प्रतिशत हो । चिया बोर्डको निर्णयको कारण किसानको चिया विक्री नभएपछि चिया बोर्डका केही सदस्य र केन्द्रीय वाणिज्य मन्त्रालयका केही पदाधिकारी रुष्ट बनेको द टेलिग्राफको बुधवारको अंकमा प्रकाशित समाचारमा उल्लेख छ ।
नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले भारतीय टी बोर्डको निर्णयले नेपाली चियाको माग बढ्ने बताए । उनका अनुसार भारतको टी बोर्डले १ वर्षअघि भारतको भौगोलिक पहिचान प्याकेजिङमा उल्लेख गरेर विदेशको चिया मिसाउन नपाउने नियम लागू गरेपछि टाटा चियाले दार्जिलिङमा उत्पादित पनि किन्न छाडिदिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS