काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई र समानुपातिकतर्फ अर्को दुई गरी चारवटा मतपत्र र चारवटै मतपेटिकाको प्रयोग हुने भएको छ ।
निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रयोग हुने दुईवटा फरकफरक मतपत्रका लागि दुईवटा फरकफरक मतपेटिकाको प्रयोग हुनेछ भने दुवै सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि प्रयोग हुने मतपत्रका लागि अलगअलग मतपेटिकामा मत खसाल्ने व्यवस्था हुनेछ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र मतपत्रमा हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न मतपत्रमा राखिएको छ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसैअनुसार तय गरेको आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन निवेदन दिएकामध्ये नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन् । त्यस्तै, नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रूपमा एउटै चुनाव चिह्न लिएका छन् ।
यसैगरी, सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिह्न लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट रहने व्यवस्था छ । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नको संख्या फरकफरक हुने आयोगले जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS