नेपाल भारत सुरक्षा बैठक : सीमा ७२ घण्टा बन्द हुने
कर्पोरट खबर
6:10 pm, शनिबार, कात्तिक १९, २०७९
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारतका सुरक्षा निकाय र प्रशासनबिच सीमा सुरक्षा बैठकले ७२ घण्टा सीमा नेपाल भारत सीमा बन्द गर्ने निर्णय गरेको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शनिवार नेपालतर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारततर्फबाट सिद्धार्थनगर, महाराजगन्जका सुरक्षा अधिकारीहरू बिच भएको बैठकले मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट बोर्डर बन्द (सिल) गर्ने निर्णय गरेको हो ।
बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानुनी कार्यहरू नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने , सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागू औषध ओसारपसार, मानव बेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, निगरानी तथा सुरक्षा उपाय अपनाउने जाली नोट नियन्त्रण लगायतका साझा सवालहरूका विषयमा निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।
FACEBOOK COMMENTS