काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले भने हरि चौहानले ७५ रनको योगदान दिए । राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे ।
कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा विक्रम सोबले ३० तथा अर्जुन साउदले ११ रन जोडे । भीम सार्कीले १० रन जोड्दा कुशल मल्ल शून्य रनमा आउट भए ।
पुलिसका करण केसी एक्लैले छ विकेट लिए भने राशिद खान र ललित राजवंशीले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३०४ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले सर्वाधिक १४० रन बनाए । यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले ।
त्यसै गरी करण केसी आठ रनमा अविजित रहे भने कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।
आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट लिए । अब उपाधि भिडन्तमा आर्मी र एपीएफ क्लब भिड्नेछन् । फाइनल खेल भोलि शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन् ।
FACEBOOK COMMENTS