काठमाडौँ । सर्वोच्च अदालतले ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने गरि आदेश दिएकाे छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।
नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो ।
कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो । आयोगको उक्त निवदेनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले पुरानै आदेशलाई निरन्तरता दिने आदेश गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
कार्कीको उम्मेदवारी कायम भएसँगै ठुला भनिएका पार्टीका उम्मेदवारलाइ धक्का परेकाे छ । साे क्षेत्रमा गठबन्धनकाे तर्फबाट उर्जा मन्त्रीसमेत रहेकी पम्फा भुसाल र नेकपा एमालेकाे तर्फबाट अमृत खड्का उम्मेदवार छन् ।
FACEBOOK COMMENTS