काठमाण्डौ । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ ।
जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब एक हप्ताका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा दुई हजार चार सय १६ कर्मचारी खटाइएका छन् । निर्वाचनका लागि सङ्घ, प्रदेश, स्थानीय तहअन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयका प्रमुखहरु र शिक्षकलाई पनि खटाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।
जिल्लास्थित अधिकांश कार्यालयका प्रमुखदेखि खरिदारसम्मका कर्मचारीहरु निर्वाचनमा खटिएकाले अधिकांश कार्यालयको सेवा प्रवाह प्रभावित भएको उनले बताए।
“निर्वाचनमा खटिने कर्मचारीले २९ र ३० गते निर्वाचन सामग्री बुझ्ने भएको हुँदा सेवा प्रभावित हुने निश्चित छ”, उनले भने, “निर्वाचनलाई सभ्य र व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले सरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह गर्न बाध्य पारिने छैन ।”
जिल्लास्थित अधिकांश स्थानीय तहहरुले कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवाहरु बन्द रहने सार्वजनिक सूचना नै जारी गरिसकेका छन् ।
निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृत सरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ भने नायव सुब्बा सरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । सोबाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ ।
प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा एक सय १३ वटा मतदानस्थल र तीन सय दुईवटा मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए ।
निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठजना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आठजनाका दरले कर्मचारी परिचालन गरिएको छ ।
FACEBOOK COMMENTS