काठमाडौँ । डोटीमा एक सय ७७ वटा स्थायी र एउटा अस्थायी मतदान केन्द्र रहेकोमा दुई वटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ ।
डोटी सदरमुकामस्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखी क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए ।
महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला रहेका छन् । त्यसै गरी सुरक्षाकर्मी समेत महिला नै खटिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्ला भरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ जनानै रहेका छन् ।
त्यसै गरी सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।
कुल निर्वाचनमा खटिएका कर्मचारीमा एक हजार ४ जना कर्मचारी र चार सय १० जना शिक्षक रहेका छन् ।
FACEBOOK COMMENTS