काठमाण्डौं । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका दुई र प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदावारले जारी मतगणनामा आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक तीन हजार छ सय ८७ मतसहित अग्रस्थानमा छन् ।
सत्ता गठबन्धनका उम्मेदवार उनले गणना सुरु भएयता आफ्नो अग्रतालाई बढाउँदै लैजाएका हुन् । यहाँ १६ हजार एक सय ८७ मत गणना हुँदा लेखकले आठ हजार तीन सय ७५ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी निरुदेवी पालले चार हजार छ सय ८८ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले सात सय ९० मत पाउनुभएको छ भने दुई वटा प्रदेशसभा रहेको निर्वाचन क्षेत्र नं ३ मा प्रदेशसभा सदस्यको गणना समेत जारी छ ।
सन्ताननब्बे हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउदको अग्रता कायम छ । यहाँ आठ हजार छ सय ९८ मत गणना हुँदा उनले तीन हजार चार सय ४८ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर धामीले तीन हजार दुई सय ८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यहाँ पनि दुवै प्रदेशसभासदस्यको गणना भइरहेको छ ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका धामीसित कांग्रेस नेता साउद पराजित भएका थिए । एक लाख पाँच हजार पाँच सय ७७ मतदाता रहेकोको निर्वाचन क्षेत्र नं २ मा ६५ हजार एक सय ४६ मत खसेको थियो । त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तारा लामा तामाङ गणनाको सुरुवातदेखि अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनले दुई हजार दुई सय १७ मत ल्याउनुभएको छ भने उनका निकटतम प्रतिस्प्रर्धी सत्ता गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री बिना मगरले एक हजार पाँच सय ७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ को दुई वटै प्रदेशसभाको पनि मत गणना जारी छ । ९९ हजार एक सय १० मतदाता रहेको निर्वाचन क्षेत्र नं १ मा ६४ हजार दुई सय ३९ खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।
FACEBOOK COMMENTS