काठमाडौं,कार्तिक १५- चालू आर्थिक वर्षको सुरु देखि नै मुलुकको व्यापार घाटामा केहि सुधार हुदैं गएको संकेत देखिएको छ । तीन महिना सम्मको वैदेशीक व्यापारको तथ्यांकले यस्तो संकेत देखाएको हो।
भन्सार विभागले असोज मसान्तसम्मको विवरण सार्वजनिक गर्दै आयात पोहोरभन्दा १०.३४ प्रतिशतले घटेको जनाएको छ। विभागका अनुसार यो वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ छ । २०७५ असोजसम्म कुल व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रहेको थियो ।
निर्यात ब्यापार केही सुधार भएको र आयात घटेका कारण ब्यापार घाटा पनि कम देखिएको छ। पोहोरभन्दा यसपाली ब्यापार घाटा १२ प्रतिशतले घटेको छ।
गत भदौसम्म ३ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने गत वर्षको सोही अवधिको तुलनामा यस आर्थिक बर्षमा आयात पनि १०.३४ प्रतिशतले घटेको हो । गत वर्षको पहिलो तीन महिनामा ३ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।
यो वर्षको पहिलो तीन महिनामा नेपालबाट २७ अर्ब १६ करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात करिब साढे १४ प्रतिशतले बढी हो । गत वर्षको पहिलो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको थियो ।

कुल ब्यापारमा निर्यातको हिस्सा ६ प्रतिशतबाट बढेर साढे सात प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९४ प्रतिशतबाट घटेर ९२.५ प्रतिशतमा आएको छ।

सबैभन्दा बढि निर्यात देशमै उत्पादन नहुने पाल्म आयलको भएको छ। कुल ५ अर्ब ७५ करोड २९ लाखको निर्यात भएको छ। कच्चा पाल्म आयत भने आयात भएको देखिन्छ। कुल ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँको आयात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ।

निर्यात हुने सामानको दोस्रो नम्बरमा सोयाविन तेल छ। त्यसै गरी सबैभन्दा उच्च आयात हुनेमा डिजेल रहेको छभने पेट्रोल तेस्रो नम्बरमा पर्दछ।