काठमाडौं,कार्तिक १६- मेलम्ची खानेपानी आयोजनाको बाँकी सुरु हुने भएको छ । मेलम्ची विकास समितिका अनुसार आगामी सोमबारबाट काम धमाधम हुनेछ । आयोजनाको बाँकी कामको ठेक्का पाएको चिनियाँ कम्पनी सिनोहाइड्रोले अहिले फिल्डमा आवश्यक तयारी गरिरहेको छ ।
कम्पनीले काम सुरु गर्न साइट सफा गर्ने, स्पेस बनाउनेलगायतका काम गरिरहेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । ‘काम सुरु गर्न ठेकेदार कम्पनीले आवश्यक तयारी अन्तिम चरणमा पु(याएको छ,’ खत्रीले भने, ‘सम्भवतः सोमबारदेखि काम सुरु हुन्छ । अहिले कम्पनीले एक सय नेपाली र ५५ जना चाइनिज मजदुर परिचालन गरेको आयोजनाले जनाएको छ ।
दुवै काम एकैसाथ
सुरुङ फिनिसिङ र हेडबक्स निर्माण गरी दुई भागमा आयोजनालाई विभाजित गरे ठेक्का लगाइएको छ । दुवै ठेक्का सिनोहाइड्रोले नै लिएको छ । एउटै कम्पनीले दुई ठेक्का पाएका कारण सुरुङ फिनिसिङ र हेडबक्स निर्माणको काम एकैपटक सुरु हुने छ । ‘दुवै कामका लागि फरक–फरक ठेक्का लागेकाले काम एकै साथ सुरु हुन्छ,’ खत्रीले भने, ‘एउटा कामका कारण अर्को काममा बाधा पर्दैन ।’
सिनोहाइड्रोसँग सुरुङ फिनिसिङको ठेक्का सम्झौता गत १२ असोजमा भएको थियो । सो ठेक्का कम्पनीले ८५ करोड एक लाख ९४ हजार ४५८ रुपैयाँमा सकारेको थियो । सम्झौताअनुसार सुरुङ फिनिसिङको काम १२ महिनामा सक्नुपर्नेछ । यस्तै, असोज अन्तिम साता सिनोहाइड्रोसँगै हेडबक्स निर्माणको समेत ठेक्का सम्झौता भएको थियो । हेडबक्स निर्माणको ठेक्का कम्पनीले एक अर्ब दुई करोड लिएको थियो । हेडबक्स निर्माणको काम कम्पनी १५ महिनामा सक्नुपर्नेछ । सिनोहाइड्रोले ठेक्का सम्झौताअघि नै काम सके बोनस पाउने गरी सम्झौता भएको छ ।
यस्तै, समयमै काम सम्पन्न नगरे क्षतिपूर्ति तिर्नुपर्ने छ । समितिसँगको सम्झौताअनुसार साढे ६ महिनामै सुरुङ फिनिसिङको काम सके सिनोहाइड्रोले दैनिक ठेक्का रकमको ०।१५ प्रतिशत अर्थात् १२ लाख ७५ हजार बोनस पाउनेछ । हेडबक्स निर्माणको ठेक्कासमेत बोनस र फाइनको व्यवस्था गरिएको छ । समयमै काम सम्पन्न गरे निर्माण कम्पनीले दैनिक ठेक्का रकमको ०।१५ प्रतिशत बोनस पाउने छ भने ढिला गरे त्यति नै क्षतिपूर्ति तिर्ने गरी सम्झौता भएको खत्रीले जनाए ।
के–के काम बाँकी छन् ?
सिनोहाइड्रोले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ । त्यसका लागि सिनोहाइड्रोले भेन्टिलेसन बनाउने, पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ । हेडबक्सतर्फ पानी थुन्ने इन्टेकको संरचना, पहुँचमार्ग स्तरोन्नति, कफर ड्यामको डिजाइन र निर्माण, क्याम्प साइडको मर्मतलगायतका काम गर्नुपर्नेछ । आयोजनाका अनुसार हेडबक्सको ठेक्का पाउनेले सोझै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडानको ठेक्का पाउने ठेकेदारसँग समन्वय गर्नुपर्नेछ । आजको नयाँ पत्रिकामा समाचार छ ।
FACEBOOK COMMENTS