काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू नै समृद्धिका सारथी भएको बताएका छन् । १५ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले विहिवार राजधानीमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायीहरू अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको उल्लेख गरे ।
उनले भने, ‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन । विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील भएनन् । अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीहरूले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको छ ।’
यस्तै, कार्यक्रमको कार्यक्रमको उद्घाटन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक भएको बताए । सरकार र निर्माण व्यवसायीहरू मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न सक्ने धारणा मन्त्री चौधरीले राखेका छन् ।
त्यसैगरी, महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राखे ।
बाजागाजा सहितको प्रभात फेरि दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा आई टुङगिएको थियो ।
१५ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई महासंघका अध्यक्ष सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल लगायतले प्रमाणपत्र वितरण गर्नुभयो । यसैबीच प्रदेश महासंघहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले पनि विविध कार्यक्रम गरी १५ औं निर्माण दिवस मनाएको महासंघका प्रवक्त समेत रहनु भएका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले जानकारी दिए ।
FACEBOOK COMMENTS