काठमाडौँ । एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज तलासको क्रममा फेला पारेर आफन्तजनलाई बुझाइएको जनाएको छ । बेखबर नागरिकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसरी बेपत्ता हुनेमा अधिकांश महिला रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
यस वर्ष जिल्लाका ३२ स्थानमा उम्रिएका गाँजा फडानी गरिएको छ । करिब एक सय ४० रोपनीमा उम्रिएका २६ हजार सात सय ८५ गाँजाको बोट नष्ट गरिएको उनले बताए। त्यसै गरी विसं २०७८ मङ्सिरदेखि २०७९ कात्तिकसम्म एक सय ६७ सवारीसाधनलाई कारबाही गर्दा रु १८ लाख २० हजार एक सय ४८ राजस्व सङ्कलन भएको छ ।
गत वर्षको मङ्सिरदेखि कात्तिक मसान्तसम्म एक सय नौ फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ३७ वर्ष चार महिना २३ दिन कैद र रु ३१ लाख ५८ हजार नौ सय २५ जरिवाना असुली भएको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
FACEBOOK COMMENTS