रेसुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।
यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाउँदै आएकी छिन् ।
बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन । बजारमा चियाको मूल्य २५ भए पनि विपनाले एक कप चिया २० का दरले बेच्छीन् । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ”, उनी भन्छिन् “घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छु”, उनले भनिन् । विपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ तीन हजार भएको बताइन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि विपना पढ्नका लागि तम्घास आएकी हुन् । उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्लस टु सकिन् । त्यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन् । उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । त्यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने कल्पना गरिन् ।
मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर सुरुआत गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् ।
अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको विपनाले बताइन् । “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उनी भन्छिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उनले भनिन् । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने विपनाको भनाइ छ ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन् । उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्कन्छीन् । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कन्छीन् । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन् । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।
उनीलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।
विपना उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छिन् । उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन् । विपनाका बुवा हरिबहादुर महत कृषक छन् भने आमा कोपिला महत गाउँकै विद्यालयमा शिक्षिका हुन् । चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।
FACEBOOK COMMENTS