काठमाडौँ । चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको महोत्सव यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुँदै छ ।
महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० कार्यगत समिति निर्माण गरिएको बताए। महोत्सवस्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिए।
विगतका महोत्सवभन्दा यस महोत्सव पृथक् बनाइने भन्दै श्रेष्ठले महोत्सवमा करिब पाँच सय स्टल रहने जानकारी दिए। महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले घरेलु तथा लघु उद्योगको उत्पादनलाई प्रवर्द्धन गरिने बताए।
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष एवं आर्थिक समिति संयोजक सहनलाल प्रधानले यस वर्ष महोत्सवमा कृषिलाई प्राथमिकता दिइने बताए। उनले भने “विगतमा हामीले माछा, मौरी, केरालगायत विभिन्न उत्पादनलाई प्राथमिकता दिएका थियौँ ।” यस पटकको महोत्सवमा पनि कृषिलाई प्राथमिकता दिइने भए पनि उत्पादनका बारेमा छलफल भइरहेको उनको भनाइ छ । महोत्सवमा बालउद्यानसहित अटो, कृषि, स्वास्थ्य, शिक्षा, सूचना र प्रविधिसहितका स्टलहरू हुनेछन् ।
महोत्सवस्थलमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गलाई निःशुल्क प्रवेश दिइने भन्दै उनले सर्वसाधारणका लागि रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको बताए। उद्योग वाणिज्य सङ्घ चितवनका कार्यकारी निर्देशक नीलबहादुर केसीले यस महोत्सवमा पनि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेरस्टल निर्माण हुने बताए। “महोत्सवमा मेड इन नेपाल र मेड इन चितवन भनेर रहनेछ”, केसीले भने“साना उद्योगमा प्रयोग हुने मेसिनरीलाई प्रवर्द्धन गर्दै युवास्वरोजगारलाई जोड दिने गरी महोत्सव हुँदै छ ।” न्यून पूँजी लगानी गरी लघु उद्योग सञ्चालन गर्न सकिने उपकरण महोत्सवमा रहने केसीको भनाइ छ ।
महोत्सव अवधिमा स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधारसहितका विषयमा राष्ट्रियस्तरको गोष्ठीको आयोजना हुने केसीले बताए। चितवनलाई जैविक विविधताको भूमि भनेर चिनाउनेगरी महोत्सवस्थलमा विभिन्न जनावरहरुको आकृति राखिने छ ।
FACEBOOK COMMENTS