काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरीमा देखिएको विवाद समाधानको जिम्मा नगर प्रहरीलाई नै दिएका छन् ।
लामो समयदेखि एउटै संगठनमा काम गर्दै आएका तल्लो र उपल्लो दर्जाका प्रहरीबीच विवाद देखिएपछि मेयर साहले त्यसलाई हस्तक्षेप नगरी नगर प्रहरीलाई नै विवाद समाधानको जिम्मा दिएका हुन् ।
नगर प्रहरी महानगरकै अंग भए पनि त्यसलाई विवादयुक्त बनाउनुनहुने भन्दै मेयर साहले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई विवाद समाधान गर्न बिहीबार निर्देशन दिएका छन् । माथिल्लो दर्जाका नगर प्रहरी र प्रशासकीय अधिकृतसँग असन्तुष्टि जनाउँदै गत सोमबार नगर प्रहरीका सइ लोकनाथ चुडालले राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबार नै स्वीकृति भएको छ ।
यसबाहेक चुडालले सोमबार बागदरबारस्थित नगर प्रहरीको मुख्यालयमा नगर प्रहरीमा भएका विकृति सुधारको माग राख्दै निवेदन बुझाएका थिए । उक्त निवेदन नगर प्रहरी कार्यालयमा दिएकाले त्यसमा नगर प्रहरीले नै छानबिन गर्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनले नगर प्रहरीको विवादमा नगर प्रहरीबाटै समाधान खोज्न मेयर साहले आग्रह गरेको बताए । ‘यो विवाद उहाँहरू दुईबीचको हो, यसको समाधान आफैँ गर्नुस् भनेर मेयरसाबले नगर प्रहरीलाई भनेका छन्,’ उनले भने, ‘नगर प्रहरीबीचको विवाद सार्वजनिक हुनु राम्रो होइन ।’
महानगर प्रहरीमा ३० वर्ष नगर प्रहरीका रूपमा काम गरेका चुडालले तल्लो तहमा कार्यरत नगर प्रहरीलाई माथिल्लो दर्जाका प्रहरीले उचित व्यवहार नगरेको र गुनासो सुनुवाइ नगरेको आरोप लगाएका छन् । उनले नगर प्रहरी कार्यालयमा निवेदन दिँदै माथिल्लो दर्जाका प्रहरीमाथि छानबिन हुनुपर्ने माग राखेका छन् ।नयाँ पत्रिका
FACEBOOK COMMENTS