विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा २ अर्ब ५० करोड लगानीको स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको छ । अन्य उद्योगको उत्पादन खुम्चिरहेका बेला पूर्णरूपमा सञ्चालनमा आएको स्वस्तिकले ५ सय जनालाई रोजगारी दिएको दाबी गरेको छ ।
सुनसरी मोरङ औद्योगिक क्षेत्रअन्तर्गतको दुहबी नगरपालिका–१, परास्टोकीमा स्थापित यो रोलिङ मिल दोस्रो बन्दाबन्दीअघि नै सञ्चालनमा आउने तयारीमा थियो । कोभिड–१९ महामारी, बन्दाबन्दी र अन्य कारणले केही पछिमात्र मिल पूर्णरूपमा सञ्चालनमा आएको हो ।
उद्योगी रमेश राठी, राजकुमार गोल्छा, जीवन रिजाल, मदन रिजाल र फरान अख्तरको लगानी रहेको उद्योगको दैनिक उत्पादन क्षमता ५ सय मेट्रिक टन छ । स्वस्तिक रोलिङले बिलेटको पनि व्यावसायिक उत्पादन गर्छ ।
यसअतिरिक्त ‘बजरंग’ ब्रान्डको टीएमटी छड, बिलेट, एंगल, च्यानल र आई बिम उत्पादन शुरू गरेको छ । एंगल, च्यानल र आई बिमको प्रयोग सानाठूला घर बनाउन, घरमा ट्रस हाल्न, विद्युतीय प्रसारण लाइनको टावर बनाउन, सानाठूला सेड निर्माण लगायतमा हुन्छ ।
भारतको टाटा कम्पनी र स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको सम्मिश्रणबाट आप्mनै भट्टीमा १७०० डिग्रीको तापक्रममा पगालेर ब्लेड उत्पादन गरिने सञ्चालक रमेश राठीले बताए ।
उच्च प्रविधियुक्त प्लान्टबाट उत्पादन गरिने भएकाले जुनसुकै उत्पादनमा शतप्रतिशत गुणस्तर रहने उनले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS