काठमाडौँ । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफूहरुको व्यवसाय र लगानीको सूरक्षा नभएको भन्दै आपत्ति जनाएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै आफ्ना १६ बुँदे मागहरु पनि सार्वजनिक गरेको छ । समाजले अघि सारेका माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
साथै, मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न पनि चालक समाजले माग गरेको छ । एकद्वार कर प्रणाली लागू गर्न समेत चालक समाजले सरकार समक्ष आग्रह छ । महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
पेशा–व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागिसमेत सरकारको ध्यानाकर्षण गरिएको छ । साथै, चालकले लगाउनु पर्ने पहेलो ज्याकेटलाई हटाउनु पर्ने, इम्बोस नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्ने लगायतका माग चालक समाजलले राखेको छ ।
चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले अहिलेसम्म विभिन्न समयमा ४३ जना ट्याक्सी चालकको हत्या भएको र उनीहरुको हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न सरकार समक्ष माग गरे । त्यसैगरी, इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरु मान्न तयार नरहेको उनको दाबी छ ।
‘हामीलाई इम्बोस्ड नम्बर भनेर राज्यले कालो धब्बा लगाउन खोजेको छ । यसमा नेपाल सरकारको ध्यानकर्षण होस् । हामी पहेँलो प्लेटको नम्बर मान्दैनौं । हामीलाई नेपाल र नेपालको संवत् र देवनागरीमा जिपिएस फिट गरिएको नम्बर चाहिन्छ,’ उनले भने ।
अधिकारकर्मी तारा बरालले यातायात व्यवसायीलाई विमा कम्पनीले उचित क्षतिपूर्ति नदिएको आरोप लगाइन् । प्राइभेट अस्पतालले सेटिङमा एम्बुलेन्स चालकसँग बिरामी किनबेच गर्ने गरेको र सेटिङको आधारमा एम्बुलेन्स चालक र ट्राफिकले दुर्घटनामा घाइते भएकालाई प्राइभेट अस्पतालमा पुर्याउने गरेको उनको आरोप छ ।
पठाओ राइडरले अफलाइन राइड गरेर दुर्घट्ना भएको अवस्थामा त्यसको जवाफदेही सरकार हुन नसकेको बरालले बताइन् । अफलाइन राइड चालकका लागि पनि खतरा हुने र कुनै पेशेवर महिलाले अफलाइन राइडरलाई फसाउन सक्नेतर्फ उनले सचेत गराइन् ।
साझा नेपाल केन्द्रीय महासंघका अध्यक्ष किरण नेपालले आफूहरु वार्ता, संवादको आधारमा समस्याको समाधान खोजेको बताए । ‘हामीले सरकारलाई असहयोग गर्याे भने बिहान सडकमा हेर्दा सबै सार्वजनिक कार्यालयको अगाडि बस र ट्याक्सी तेर्सिएको हुनेछ । त्यो परिस्थिती सिर्जना नहोस्,’ उनले भने ।
चालक समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले यातायातको क्षेत्रमा विकृति बढेको र आफूहरुले यातायात व्यवसायलाई मर्यादित बनाउन चाहेपनि सरकारको निरिहताले सम्भव नभएको बताए ।
उनले सरकारले स्वचालित भाडा बिर्सन नहुने बताए । राज्यले कर बढाउँदा ट्याक्सीको भाडासमेत समायोजन हुनुपर्ने उनको दाबी छ ।
FACEBOOK COMMENTS