काठमाडाैं । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आमसञ्चार सम्मान, २०७९’ भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई समर्पण गर्ने भएको छ ।
लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न रही ‘युगज्ञान’, ‘जूही’ र अन्य पत्रिकाका माध्यमबाट नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको एकसाथ सेवा गरेका रेग्मीलाई आमसञ्चार सम्मान समर्पण गर्न लागिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिए । रेग्मीले प्रयोग कम हुँदै गएर लोप हुन लागेका नेपाली झर्रा शब्दलाई साहित्यिक कृतिमा प्रयोग गरी जनमानसमा भिजाउन अथक प्रयत्न गरेका छन् ।
यही स्तुत्य कार्यको अभिवन्दनास्वरूप उनलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनले जनाएको छ । लेखक सुनील सापकोटाले ‘गोर्खाली’ पत्रिकाका सम्पादक–प्रकाशक आफ्ना बूढाहजुरबुबा सुब्बा देवीप्रसाद सापकोटाको स्मृति र सम्मानमा व्यवस्था गरिदिएकाे अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गर्ने गरिएको हो ।
पुरस्कारको राशि पाँच हजार रुपैयाँ नगदसहित सम्मान पत्र रहेको अध्यक्ष मञ्जुश्रीले बताइन्।
FACEBOOK COMMENTS