काठमाडौं, मंसिर ६ – उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ ।
महराको निवेदनको सुनुवाइ गर्दै शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालतले आदेश दिँदाको कैफियत कागजात पठाउन आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध बिहीवार महराका वकिलले उच्च अदालमा निवेदन दिएका हुन्।
जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहितको निवेदन महराका वकिलले दर्ता गराएका थिए । अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको थियो।
जिल्ला अदालतबाट घटनाको मुचुल्का, बयान लगायतका सबै कागजात आएपछि सो कागजातको अध्ययन गरी महरालाई थुनामै राख्ने वा थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने बारे उच्च अदालतले आदेश दिनेछ । उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएमा महरा थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्नेछन् । उच्च् अदालतले पनि थुनामै पठाउे जिल्लाको आदेश सदर गरेमा महरा सर्वोच्च अदालतमा पनि निवेदन दिन जान सक्नेछन् ।
संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको आरोपमा महरा अहिले डिल्लीबजार कारागारमा छन्।
FACEBOOK COMMENTS