हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।
मङ्गलवार भएको मतदानमा मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभामा रहेका एक सय १० जना सांसदमध्ये एक सय पाँच जना सांसदले विश्वासको मत दिएका हुन् । उनलाई नेपाली कांग्रेससहितका दलहरूले विश्वासको मत दिएका हुन् । सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बागमती प्रदेशमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलाई विश्वासको मत दिएको हो ।
प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेकोमा उसका ३७ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री जम्कट्टेलको पक्षमा एक सय पाँच जना सांसदले मत दिएका थिए भने विपक्षमा तीन जना सांसदले मत दिए । एक जना सांसद अनुपस्थित हुँदा सभामुख तटस्थ रहेका थिए ।
जम्कट्टेलले कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसद गरी एक सय पाँच जना सांसदको मत पाएका हुन् । उनको विपक्षमा नेमकिपाका तीन जना सांसदले मतदान गरे ।
FACEBOOK COMMENTS