काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा देशको राजस्व संकलनमा ८३ अर्बको गिरावट आएको छ ।
नेपाल चेम्बर अफ कमर्शले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रः आजको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चालु खर्च ३७ अर्ब ९१ करोड रुपैंयाले घाटामा देखिएको बताए । उनले भने ‘खुला सीमाको फाइदा उठाएर झण्डै ४५ प्रतिशतसम्म अवैध व्यापार भइरहेको छ । भन्सार प्रशासन सुधार हुन नसक्दा राजस्व संकलन प्रभावित भइरहेको छ ।
उनले करको दायरा वृद्धि गर्न नागरिकतासँगै प्यान कार्ड पनि अनिवार्य गर्नुपर्ने माग राखे । चेम्बरको तथ्यांकअनुसार विदेशी विनिमय संचिति मंसिर मसान्तसम्म नौ अर्ब ८२ करोड डलर रहेको छ । शोधानान्तर स्थिति पनि ४५ अर्ब ८७ करोडको बचतको स्थितिमा छ भने रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भई चार खर्च ८० अर्बको हाराहारीमा पुगेको छ ।
सरकारको पुँजिगत खर्च भने १४ प्रतिशतमा सीमित छ । मल्लका अनुसार केन्द्र, प्रदेश तथा स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० देखि ९५ प्रतिशत रकम बैंक तथा वित्तिय संस्थामार्फत चलायमान गर्न बैंक तथा वित्तिय संस्थामार्फत चलायमान गर्न सकिएमा बजारमा तरलता सिर्जना गर्न सहयोग पुग्ने देखिन्छ ।
उनले चालु पुँजि कर्जामा ठूला तथा साना दुवैखाले ऋणीहरुलाई ४० प्रतिशत नै कायम गर्न माग गरे । सो अवसरमा उनले पर्यटन र हवाई कनेक्टिभिटी, सुचना प्रविधि, कृषि र जलविद्युत क्षेत्रको बारेमा समेत प्रकाश पारेका थिए ।
कार्यक्रममा विभिन्न नीजि क्षेत्रका प्रतिनिधिहरुले सरकारलाई वैदेशिक रोजगारीलाई रोक्न कृषितर्फ सरकारले ध्यान दिनुपर्ने, उखुको मूल्य निर्धारण गर्नुपर्ने, नेपालभित्रै उत्पादित मललाई प्रोत्साहित गर्न अनुदानको व्यवस्था गर्नुपर्ने, अर्गानिक उत्पादनलाई बढाउन विज्ञहरुको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेका थिए ।
FACEBOOK COMMENTS