जुम्ला । विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा गिरावट आएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए ।
देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । यहाँको होटलका साथै कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा पर्यटकलाई आवश्यक सुविधा दिन नसकिएकाले बाह्य र आन्तरिक पर्यटक पनि घटेको उनको भनाइ थियो ।
“रारातालको सौन्दर्यले पर्यटनलाई लोभ्याए पनि यहाँ आइपुगेका पर्यटकले राम्रोभन्दा नराम्रो कुराको सन्देश फैलाउँदा नयाँ आउने पर्यटकलाई पनि असर परेको छ । राजमार्ग हुँदै आउने पर्यटकले सडकको राम्रो व्यवस्था नहुँदा निकै सकस हुने गुनासो गरेका छन्,’’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने । रारासम्म पर्यटकलाई सहजरुपमा पुर्याउन सके यहाँको आम्दानीमा निकै टेवा पुग्ने भएकाले स्थानीय र प्रदेश सरकारले यहाँको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उनले बताए । राजस्व वृद्धिदर पनि यो आर्थिक वर्ष तीस प्रतिशतले घटेको निकुञ्ज कार्यालयले जनाएको छ ।
पर्यटकीय हबको रूपमा विकास भएको रारातालमा पर्यटकलाई आकर्षण गर्न यहाँका सरोकारवाला निकाय र स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको स्थानीयवासीको भनाइ थियो । राराभित्र प्रवेश शुल्क नेपालीका लागि प्रतिव्यक्ति रु १००, सार्क मुलकका नागरिकलाई १३ प्रतिशत भ्याटसहित रु एक हजार पाँच सय र अन्य विदेशीलाई १३ प्रतिशत भ्याटसहित रु तीन हजार लाग्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS