काठमाडौँ । नागरिक समाजले बागमती नदीको सरसफाइका नाममा चरम भ्रष्टाचार भएको भन्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा आइतबार उजुरी दायर गरेका छ ।
नेपालीहरुको आस्थाको धरोहरका रुपमा रहेको पवित्र नदीको सरसफाइका नाममा वर्षाैंदेखि राज्यको अर्बाैं रुपैंयाँ खर्च भइसक्दा पनि ढल मात्र दुर्गन्धित भएर बढिरहेको भन्दै प्रकाश रायमाझी, विश्वभक्त बाबा, सुलोचना थापा लगायतका नागरिक समाजका अगुवाहरुले उजुरी दायर गरेका हुन् ।
अख्तियारमा दायर पत्रमा भनिएको छ, ‘सो आयोजना र सोसँग सम्बन्धित निकायहरुले बागमती नदीको नाममा भ्रष्टाचार गर्ने थलोका रुपमा परिणत गराएका छन् । तसर्थ सो नदीमा के कति काम भए आजसम्मको खर्च भएका रकमहरुको स्थलगत निरीक्षण गरी भष्टाचार गर्नेहरु उपर कडा कार्वाही गरी सोको जानकारी तत्काल नेपाली जनता जान्न चाहन्छन् । राज्य बेखबर भएर यसरी धार्मिक आस्थासँग जोडिएको पवित्र क्षेत्रमा दुर्गन्धित मलमुत्र बगिरहँदा विश्वभरका हिन्दु धर्मालम्बीहरुमा नैराश्यता उत्पन्न भएको छ । अतः जो कोही भएपनि भ्रष्टाचारीलाई कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग नचुकोस् ।’
FACEBOOK COMMENTS