काठमाडौं,मंसिर १२- अर्घाखाँचीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ भने दुर्घटनामा १३ जना घाइते भएका छन् ।
सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी धनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापासहित अर्घाखाँची सन्धिखर्क–७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी र मोनिका खड्का, भूमिकास्थान–९ का शैलेश थापा, सन्धिखर्क १० का छविलाल गैरे, गुल्मी धुरकोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महत र कपिलवस्तु चपर गाउँकी सीता बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । अन्य ९ जनाको परिचय खुल्न बाँकी छ ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ ।
FACEBOOK COMMENTS