काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा अझै तरलताको अभाव रहेका कारण तत्काल बैंकहरुलाई नयाँ ऋण दिन सक्ने अवस्था नरहेको बताएको छ ।
राष्ट्र बैंकको आजको अर्थवार्षिक समिक्षापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठले हाल राजस्व कम उठेकाले सरकार समेत दवाबमा रहेको बताएका हुन् । उनले भने, ‘समस्टिगत आर्थिक स्थितिमा परिवर्तन आएमा आगामी वर्षको मौद्रिक नीतिको कार्यनीति पनि परिवर्तन गर्छाैं ।’ सानाे दायराका ऋणीहरुका लागि भाका सार्न सक्ने व्यवस्था समेत गरिएको उनले बताए ।
हाल आयात प्रतिबन्ध हटाइए पनि मौद्रिक नीतिलाई परिवर्तन गर्ने अवस्था नरहेको समेत उनले स्पष्ट पारे । उनका अनुसार आज सार्वजनिक गरिएको अर्धवार्षिक नीतिले शेयर बजारलाई भन्दा अन्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेको छ । ‘राष्ट्र बैंकले तत्कालका लागि कार्यदिशा परिवर्तन गरेको छैन,’ उनले भने, ‘हाल देशको खर्च उच्च भएकाले वित्त घाटा उच्च रहेको छ भने, त्यसलाई सन्तुलनमा ल्याउनुपर्ने अवस्था राष्ट्र बैंकले देखेको छ ।’
निर्यातमा भन्दा आयातमा वृद्धि भएकाले सरकारले विलासी वस्तुहरुको आयातलाई सन्तुलनमा राख्न केही वस्तुको आयातमा गरिएको कटौतीलाई निरन्तरता दिइने केन्द्रीय बैंकले बताएको छ । बैंकका अनुसार अहिलेको समीक्षामा थोरै मात्र सुधार गरिएपनि बजारको स्थितिलाई हेरेर आगामी चैतमा गरिने समीक्षामा परिवर्तन गर्न सकिनेछ ।
FACEBOOK COMMENTS