सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेका छन् ।
कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यालाई भेटघाट गरेका मुख्यमन्त्री शाहले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिए ।
उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताए । मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने रेशमका भाइ प्रकाश चौधरीलाई आश्वासन दिए ।
टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस् पुगेको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, “टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ । वर्षौदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ । अब त्यो तपाईँ हामी सबैले बुझ्नुपर्छ । सबै सजग हुनुपर्छ ।”
मुख्यमन्त्री शाहले आजै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सङ्घीय सांसद रञ्जिता श्रेष्ठसँग भेटवार्तासमेत गरेका छन् । टीकापुरस्थित सिदार्थ होटलमा भएको घेटघाटमा वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको मुख्यमन्त्रीका सचिवालय प्रमुख रामबहादुर विष्टले बताए ।
शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो । शाहले विश्वासको मत पाउने दाबी गरेका छन् । उच्चस्तरीय भेटघाटको लागि मुख्यमन्त्री शाह आजै काठमाडौं गएका छन् ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने विश्वास व्यक्त गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक नौ, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना सांसद छन् ।
FACEBOOK COMMENTS