काठमाडौं । काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए ।
फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए ।
सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताए । कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारवाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं पठाइएको अर्यालले जानकारी दिए ।
FACEBOOK COMMENTS