काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे। १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।
त्यही बलमा पौडेलले १४औं महाधिवेशनमा देउवाविरुद्ध फेरि सभापतिमा प्रतिस्पर्धा गर्न चाहेका थिए। त्यो वातावरण बनाउन इतरसमूहको नेतृत्व गर्दै पौडेल देउवाको सबैभन्दा आलोचकका रूपमा प्रस्तुत भए। तर १४औं महाधिवेशनको सँघारमा २०७८ मंसिर २३ गते पौडेललाई इतरपक्षका नेताहरू नै सभापतिको उम्मेदवारमा स्वीकार गर्न तयार भएनन् ।
विशेषगरी १४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिको प्रतिस्पर्धामा उत्रिने अडान लिए। इतरपक्षका शेखर कोइरालासहितका केही युवा नेता पनि पौडेललाई नेता मान्न हिच्किचाए। पौडेललाई सिंह र कोइराला दुवैले सभापतिको उम्मेदवार मान्न चाहेनन्।
राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका पौडेललाई निकटस्थहरूले नै सभापतिको उम्मेदवार हुन असहयोग गरे। त्यसबाट बिरक्तिएका पौडेल सक्रिय राजनीति मात्र होइन, कांग्रेससँग पनि अलग हुने निष्कर्षमा पुगे। मंसिर २४ गते सुरु हुने पार्टीको १४औं महाधिवेशनमा समेत सहभागी नहुने निष्कर्षमा पौडेल पुगे। सक्रिय राजनीतिबाट विश्राम लिने पौडेलको तयारीको सूचना पाएलगत्तै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा मंसिर २३ गते साँझ नै पौडेल निवास पुगे।
देउवाले भेटमा पार्टी र मुलुकका लागि पौडेलको सक्रियता चाहिएको भन्दै स्वास्थ्यको ख्याल गर्न सुझाए। लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्याएको योगदान मूल्यांकन गर्ने बताउँदै देउवाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरे। पौडेल निकटस्थहरूले पनि उनलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे ।
पौडेल १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भए। तर महाधिवेशनको अन्य प्रक्रियामा उनी सहभागी भएनन्। त्यसपछि पौडेलकै समर्थक र शुभेच्छुकले उनको आलोचना गरे। पहिलो चरणबाट सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनबाट देउवा पुनस् सभापतिमा निर्वाचित भए ।
त्यसपछि देउवाविरोधी गुटका नेताहरू पौडेलसँग टाढिँदै गए। तर देउवाले पौडेललाई सत्ता साझेदार दलहरूको संयन्त्रको संयोजक बनाउँदै राजनीतिक सक्रियतामा उनलाई जोड्दै गए। गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS