गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् ।
ढोरपाटन क्षेत्र, बागलुङ जिल्ला र गण्डकी प्रदेशको दीगो विकासका लागि जलाशययुक्त आयोजना कोसेढुङ्गा सावित हुने भन्दै अधिकारीले तत्काल काम थाल्नुपर्ने बताए । उनले जलाशययुक्त आयोजना निर्माणपछि ढोरपाटन क्षेत्रका सर्वसाधारणको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विद्युत् आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले केन्द्र सरकरासँग अनुरोध गर्ने उनले बताए । गण्डकी प्रदेशकै गौरवको आयोजना भएर पनि उत्तरगङ्गा कम चर्चामा रहने गरेको भन्दै उनले सबै पक्ष र क्षेत्रबाट यो आयोजना सञ्चालनका लागि सहयोग आवश्यक रहेको बताए ।
सम्भाव्यता अध्ययन सकिएको आयोजनाबाट ८२६ मेगावाट विद्युत् निकाल्ने योजना रहेको भए पनि काम अघि बढ्न सकेको छैन । नेकपा ९एमाले०को ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत ढोरपाटन उपत्यकामा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले ढोरपाटन क्षेत्रमा पुग्ने सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।
राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडकको काम सन्तोषजनक नभएको भन्दै उनले आयोजनाले तत्काल काम सक्नुपर्ने बताए । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।
ढोरपाटन नगरपालिकाका केही वडामा बाहेक अन्य तीनवटै पालिकाका वडामा केन्द्रीय प्रसारण लाइन पुगेको छैन । ढोरपाटनमा अस्पताल र शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने अधिकारीले बताए ।
सांसद देवीप्रसाद भट्टचनले जनताको आर्थिकस्तर सुधार नभएसम्म समृद्धिको सपना पूरा गर्न नसकिने बताए । आयआर्जन र उत्पादनको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने उनको धारणा थियो ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले जनभावनाअनुसारकै विकास निर्माण र विधि विधान बनाउने काममा आफू लागिरहेको बताए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ढोरपाटन, निसी र तमानको विकासका लागि तीनै तहका सरकारको साझा कार्यक्रम आवश्यक रहेको बताए ।
FACEBOOK COMMENTS