काठमाडौं । उद्योग व्यवसायीहरूले आज पनि नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका व्यवसायीहरुले मंगलबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि प्रदर्शन गरेका हुन् ।
उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंक विरुद्ध सडक संर्घषमा उत्रिनु परेको बताएका छन् ।
देशभरका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षण गराएका हुन् ।
विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए ।
बैंक ब्याजदरविरुद्ध ठटेर लाग्नुपर्नेमा भन्दै उद्योग र उद्योगीहरू टाट पल्टिने अवस्था आइसक्दा पनि राज्यले बेवास्ता गरेको भन्दै राष्ट्र बैकमा धर्ना दिएकाे उनले बताए ।
उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले चर्को व्याजदर लिएको बताए ।
व्यवसायीहरुको व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज दिनसक्ने अवस्था नभएको भन्दै सरकारले व्यवसायीहरुसँग छलफल गरी सामाधान गर्न आग्रह गरे ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने बताए ।
FACEBOOK COMMENTS