काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्थामा मुलुकको राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको बताएका छन्।
राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री समेत रहेका प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रधानमन्त्रीले भने, ‘विश्व परिवेशमा भइरहेका घटनाहरुको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रुपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरुले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो तथ्य नेपालजस्ता मुलुकका लागि झन् बढी महत्वपूर्ण हुने गर्छ।’
प्रत्येक राष्ट्र आ-आफ्नो मूल्य-मान्यता र मुल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने बताउँदै उनले राष्ट्रिय सुरक्षा भनेकै जनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएको उल्लेख गरे।
‘सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिपेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्ष लगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक पर्छ। त्यसका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्छ,’ प्रचण्डले भने।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यवद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘सोही अनुसार ‘राष्ट्रिय सुरक्षा नीति-२०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ‘राष्ट्रिय सुरक्षा नीति-२०७५’ कार्यान्वयनमा ल्याइसकिएको छ।’
तालिममा सरिक सम्पूर्ण सहभागीहरुलाई हार्दिक बधाइका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाजस्तो अति महत्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रक्षा मन्त्रालय, नेपाली सेना एवं सैनिक कमाण्ड तथा स्टाफ कलेज लगायत सबैलाई हार्दिक धन्यवाद दिएका थिए।
FACEBOOK COMMENTS