काठमाडौँ। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी त्यागेका छन्। उनी बुधबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।
कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका छन्। रिपोर्टर्स क्लब आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्।
आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने निश्चित भएको छ । पार्टी प्रवेशका क्रममा कुशवाहले आफूलाई माओवादीभित्र सधैँ अन्याय गरिएको गुनासो गरे।
कुशवाह ०६४ को संविधानसभामा निर्वाचित भएका थिए। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाका रामसहाय प्रसाद यादवसँग बारा २ मै पराजित भएका थिए।
यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
जहाँ जसपा अध्यक्ष उपेन्द्र यादव उठ्ने भएका छन्। पत्रकार सम्मेलनमा कुसवाहले उपेन्द्र यादव चुनाव लडे उनलाई हराउने बताए ।
कुशवाहले उनै यादवविरुद्ध चुनावी मैदानमा उत्रिने निर्णयसहित जनमत पार्टी रोजेका हुन्।
आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको बताए ।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी जनताको मात्र नभई नेताको समेत उद्धारकर्ता भएको बताए ।
FACEBOOK COMMENTS