काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अल्पकालीन र दीर्घकालीन सोचका साथ योजना बनिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै उनले अर्थतन्त्र अहिले केही दबाबमा रहेको बताए ।
‘हामी सबैलाई थाहा छ, हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अफठ्याराहरु सिर्जना भएको छ । सरकार, अर्थमन्त्रालय र मैले यसलाई गम्भीरताका साथ लिएका छौं’ उनले भने ।
समस्या सबैतिर रहेको भन्दै उनले अहिले भएको कमजोरी हटाउँदै जाने बताए । आठ महिना बितेपछि टेन्डर लगाउने भन्दै मन्त्रालयमा फाईल आएको उनले स्मरण गरे ।
ब्याजदर घटाउने, कर्जा तालिकीकरण गर्ने बिषयमा राष्ट्र बैंकसँग कुरा भइरहेको उनले जानकारी दिए । जग्गाको कित्ताकाट खुलाउने विषयमा छलफल भइरहेको भन्दै मन्त्री महतले निर्माणका काम बढाउने र अर्थतन्त्र चलायमान बढाउने गरि काम भइरहेको दाबी गरे ।
अहिले ऋण लिएर तिर्दिन भन्ने सुनिएको भन्दै उनले त्यसो हुन नसक्ने बताए । ‘ब्याज त पर जावस् साँवा पनि तिर्दिन भन्ने हुन सक्दैन । यसमा सरकार स्पष्ट छ’ उनले भने ।
उनले रेमिट्यान्सका कारण बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिकतर्फ अवस्था नाजुक भएको बताए। उनले यसलाई सुधार गर्न तत्काल दीर्घकालीन दुईथरि योजना ल्याउने बताए।
‘वैदेशिक लगानी बढाउने योजना छ, व्यापार मात्रै नभई अब उत्पादनमा पनि ध्यान दिन आग्रह गर्छुँ,’ उनले भने, ‘निर्यात बढाउने छौँ। बंगलादेशको जस्तो निर्यात योजना आउँछ।’
उनले अहिले पूँजीगत खर्च गर्न नसक्नुको कारण राजश्व कमजोर रहेको बताए।
ब्याजदरको कारण पनि अहिले धैरै असर परेकाले समाधान गर्न कर्जा र निक्षेपको फरक हेर्नुपर्ने बताए।
FACEBOOK COMMENTS