काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ । सत्तापक्षले नै दर्ता गराएको र आफू समर्थक मात्र रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेले बैठकमा उभिएर विरोध गरेको हो ।
एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरूले भौतिक रुपमा उपस्थित हुनुपर्ने अडान लिएका हुन् ।
‘खेलाँची गरे जस्तो भयो । संसदको गरिमालाई होच्याउने काम गरियो, ‘ एमाले सांसदले बैठकमा भने, ‘देशको अर्थतन्त्रसँग सम्बन्धित प्रस्तावको छलफल भौतिक रूपमा उपस्थित भएर सुन्नुपर्छ ।’
अध्यक्ष तिमिल्सिनाले ुमन्त्रीले ढिला आउनुपर्ने बाध्यता बताउनु भएकोु उल्लेख गरेका थिए । तर एमाले सांसदहरू उभिएपछि तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो ।
अर्थमन्त्री प्रकाशशरण महत उपस्थित भएपछि राष्ट्रिय सभाको बैठक फेरि सुरू भएको छ ।
FACEBOOK COMMENTS