काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत बिषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको स्पष्ट पारेका छन् । नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरे । साथै महामहिम राजदुतको कार्यकाल तथा नेपालको बसाइँ उपलब्धिमुलक र सुखद रहोस् भन्ने कामना व्यक्त गरे ।
बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको स्मरण गराउदै मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन र विविधीकरण गर्नको लागि बेलायती राजदूत निकोलाको महत्तम प्रयास रहने अपेक्षा रहेको स्पष्ट पारे ।
त्यसैगरी नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, विद्युतीय यातायात, न्यून कार्बन पूर्वाधार र पर्या – पर्यटनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको बताए । नेपालको नवीकरणीय ऊर्जा विकास, जलवायु परिवर्तन सम्बन्धी अनुकूलन र न्यूनीकरण प्रयासहरूमा बेलायत सरकारको सहयोग प्रति मन्त्री रिजालले कृतज्ञता समेत व्यक्त गरे ।
भेटमा बेलायती राजदूत निकोलाले नेपालमा लगानीको वातावरण थप सुद्धिढ गराई एफडिआई बढाउनमा जोड दिए । बेलायती राजदूत निकोलाले नेपालको विकासमा बेलायत सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए ।
FACEBOOK COMMENTS