काठमाडौ । देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ ।
विभागका अनुसार हालसम्म सातै प्रदेशमा तीन लाख १९ हजार तीन सय १४ हजार पशु चौपाय निको भएका छन् । हालसम्म पाँच लाख ५५ हजार चार सय पशु सङ्क्रमित भएको र त्यसमध्ये एक लाख नौ हजार छ सय ६७ पशुमा खोप लगाइएको छ । हाल दुई लाख १५ हजार पशु यो रोगको सङ्क्रमणमा छन् ।
विभागले रोग नियन्त्रणका लागि पशुपक्षी अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा वरुणकुमार शर्माको संयोजकत्व र सातै प्रदेशसँगको समन्वयमा एलएसडी कन्ट्रोल रुम स्थापना गरी काम गरिरहेको छ ।
लम्पी स्किन नेपालमा देखापर्न साथ कृषि तथा पुशपक्षी विकासमन्त्री डा बेदुराम भुसालको निर्देशनमा सातै प्रदेशमा मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली खटाइएको छ । उक्त टोलीले प्रदेशका विभाग र स्थानीय तहसँग सहकार्य गरेर काम अगाडि बढाएका छन् ।
सहसचिव नेतृत्वको टोलीका अनुसार मुलुकभर लम्पी स्किन रोग क्रमिकरूपमा नियन्त्रण उन्मुख रहेकाले चिन्तामा नरहन पशुपालक किसानलाई आग्रह गरिएको छ । जुन ठाउँमा रोगको सङ्क्रमण फैलिएको छ उक्त स्थानका किसानले प्रदेशस्तरमा गठन भएको कन्ट्रोल रुममा सूचना तथा जानकारी दिनसक्ने व्यवस्था गरिएको छ ।
लम्पी स्किन रोकथामका आवश्यक तयारीका साथ सातै प्रदेशमा टोली खटाएर काम अगाडि बढाएको पशु सेवा विभागका महानिर्देशक डा सम्झना काफ्लेले बताउनुभयो । हाल विभागले पशु सेवा विभाग र अन्तर्गतका सहसचिवले नेतृत्व गर्ने गरी सातवटै प्रदेशमा टोली खटाएको छ ।
विभागका अनुसार असार ५ गते सुदूरपश्चिम प्रदेशमा विभागका उपमहानिर्देशक डा वरुणकुमार शर्मा, कर्णाली प्रदेशमा उपमहानिर्देशक डा प्रेरणा सेढाईँको नेतृत्वमा लम्पी स्किन रोगको रोकथाम, नियन्त्रण तथा समन्वय टोली खटाइएको छ ।
लम्पी स्किन रोग सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूको उत्तरसहितको सामग्री तयार गरिएको छ । साथै उक्त रोगको रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहअनुसार अनुमानित पशु सङ्ख्या, रोगको जोखिममा रहेका पशु सङ्ख्या र लम्पी स्किन रोगविरुद्धको खोप लगाउनुपर्ने अनुमानित पशु सङ्ख्याको विवरण विभागमा उपलब्ध गराउन प्रदेशस्थित पशु सेवा हेर्ने सातवटै मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।
आवश्यक बजेट नहुँदा भ्याक्सिन खरिदमा समस्या परिरहेका बेला मन्त्रायलले आवश्यक बजेटको प्रबन्ध मिलाएर काम अगाडि बढाएको जनाएको छ ।
FACEBOOK COMMENTS