काठमाडौं, पुस २२ – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकको पदबाट अवकास भएपछि ढुंगानालाई बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो । ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका छन् ।
बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा। केशब प्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रीपरिषद पठाएको थियो ।
पूर्वी नेपालको मोरङ जिल्लामा २०१९ माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए भने २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनी नेपाल धितोपत्र विनिमय बजारमा तीन वर्ष सञ्चालक समिति सदस्य समेत भएका थिए ।
ढुंगानाले अब धितोपत्र बोर्डमा ५ वर्ष नेतृत्व गर्ने छन् । बोर्डमा अध्यक्ष नै कार्यकारी प्रमुखको हुन्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पछिल्लो समय प्रभावकारी नियामकको रुपमा अगाडि बढिरहेको छ ।
FACEBOOK COMMENTS