काठमाडौं । चालू वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १ दशमलव ७३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ महिनामा मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ लशमलव ५६ प्रतिशत रहेको थियो ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७ दशमलव ७६ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५ दशमलव २९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, राष्ट्र बैंकको अनसार रेष्टुरेण्ट तथा होटलको मूल्यवृद्धि १४ दशमलव ३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८ दशमलव ४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६ दशमलव ६० प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५।७५ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९ दशमलव ३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८ दशमलव ४१ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणहरुको ७ दशमलव ८३ प्रतिशतले बढेको छ ।
यस अवधिमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७ दशमलव १९ प्रतिशत, तराईमा ६ दशमलव ९३ प्रतिशत, पहाडमा ६ दशमलव २८ प्रतिशत र हिमालमा ६।३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८ दशमलव ३२ प्रतिशत, ८ दशमलव २९ प्रतिशत, ९ दशमलव २८ प्रतिशत र ८ दशमलव ९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
FACEBOOK COMMENTS