काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिएको छ।
उनको पार्थिव शरीरलाई अस्पतालबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ लगिएको छ। दिउँसो १ बजेसम्म सीताको पार्थिव शरीरलाई पेरिसडाँडामा राखिनेछ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको बुधबार बिहान निधन भएको थियो।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ।
यसैबीच सीताको निधनपछि नर्भिक अस्पतालमा प्रधानमन्त्री दाहाललाई समवेदना दिन विभिन्न पार्टीका शीर्ष नेताहरू र मन्त्रीहरू पुगेका थिए।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत अस्पताल पुगेका थिए।
FACEBOOK COMMENTS